काठमाडौँ । गोरखामा टिपरले किचेर एक महिलाको मृत्युभएपछि आक्रोसित भएका स्थानीयले क्रसर उद्योगको टिपर र स्काभेटरमा आगजनी गरेका छन् ।
गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले किचेर गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी तामाङलाई शुक्रबार क्रसरबाट निस्केको टिपरले किचेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । तामाङको मृत्यु भएपछि आक्रोसित भीडले क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तोडफोड गरेका छन् ।
घटनास्थलमा जम्मा भएका स्थानीय र प्रत्यक्षदर्शीले टिपरको ठक्करबाट घाइते महिलालाई ब्याक गरेर मारिएको दाबी गरेका छन्। मृतक तामाङको आफन्तले अवैध क्रसर बन्द गर्नुपर्ने र मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफुहरुको माग पुरा नभएसम्म शव नउठाउने बताइरहेका छन्।
महिलालाई ठक्कर दिने ग १ ख ८०२७ नम्बरको टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको डिएपी वासुदेव खतिवडाले बताए।
0 Comments