Report by Abhishek Aryal from Nepal
मर्स्याङदी समाचार, २१ मंसिर
गण्डकी प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्री मधु अधिकारीले जिल्ला अस्पताललाई आफ्नो कार्यकाल भित्रै एकसय शैया क्षमताको बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । जिल्ला अस्पताल लमजुङमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो ।
जिल्ला अस्पताल लमजुङमा शुरु भएको डायलासिस सेवा सहित पिसिआर भवन र आईशोलेसन भवन उद्घाटन कार्यक्रममा बोल्दे मन्त्री अधिकारीले जिल्ला अस्पतालको सेवा सुविधालाई व्यवस्थीत बनाउन र अस्पतालको क्षमता बृद्धि गर्न लागिपरेको बताउनुभएको हो । प्रदेश सभा निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन हुन लागेको अवस्थामा आफ्नो कार्यकाल थोरै समय बाँकी रहेपनि जिल्ला अस्पताललाई एकसय शैया बनाउने काम आफ्नै कार्यकाल भित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा सहितको अस्पताल सञ्चालन र व्यवस्थापनको विषय सहज नभएको भन्दै मन्त्री अधिकारीले स्वास्थ्यकर्मीहरुको इमान्दारिता र मिहेनतकै कारण जिल्ला अस्पतालको सेवा सन्तोषजनक भएको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले जिल्लामा डायलासिस सेवा शुरु भएसँगै जिल्लाका विरामीहरुले उपचार नपाएर भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको दावि गर्नुभयो । जिल्ला अस्पतालमा डायलासिस सेवा सुरु गर्नका लागि आवश्यक स्वास्थ्यकर्मी र थप जनशक्तीको व्यवस्थापन पनि आफ्नै कार्यकाल भित्र सम्पन्न गर्ने मन्त्री अधिकारीको दावि थियो ।
सोहि कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आफ्नै कार्यकालमा विपन्न हरुका निम्ती निशुल्क उपचारको व्यवस्थापनको तयारी पनि अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभयो । केहि दिन भित्रै प्रदेश सरकारले गरिव तथा विपन्न हरुको उपचारका लागि विशेष प्याकेजको निर्णय गर्ने मन्त्री अधिकारीको भनाई थियो ।
सोहि कार्यक्रममा बोल्दै बेसीशहर नगरपालिका प्रमुख गुमानसिँह अर्यालले जिल्ला अस्पतालको सेवा प्रवाहका विषयमा गुनासो आउन थालेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । जिल्लाका नागरिकहरुले सरकारी अस्पतालबाट पाउनुपर्ने सेवा नपाएको खण्डमा निजी अस्पतालमा महंगो सेवा लिन बाध्य हुने र कतिपय नागरिकहरु अझैपनि निजि अस्पतालमा उपचार गर्ने सामाथ्र्य नभएको उल्लेख गर्नुभयो ।
जिल्ला अस्पताल लमजुङमा केहि हप्ता अघिबाट डायलासिस सेवा शुरु भएको हो । निर्वाचन लक्षित विविध कार्यक्रमका कारण डायलासिस सेवा औपचारिक उद्घाटनका निम्ती ढिलाई भएको अस्पताल विकास समितिले जनाएको छ ।
0 Comments